Tuesday, January 19, 2016

१७ वर्षपछि जुरेको तीन संयोग ।


माघ ६, २०७२- फरवार्ड नवयुग श्रेष्ठको ह्याट्रिक सहयोगमा नेपाली राष्ट्रिय टिमले मंगलबार माल्दिभ्सको चुनौती ४–१ ले पन्छाउँदै ढाकामा भइरहेको बंगबन्धु गोल्डकप फुटबलको फाइनल यात्रा तय गरेको छ । यससँगै नेपाल १७ वर्षपछि फाइनलमा पुगेको हो ।



दशरथ रंगशालामा सन् १९९९ मा आयोजित आठौं दक्षिण एसियाली महासंघीय खेलकुद (साफ गेम्स) मा स्वर्णपदकका लागि भएको खेलमा बंगलादेशले नेपाललाई १–० ले स्तब्ध पारेको थियो । त्यसयता नेपालले फाइनल खेल्ने पक्का गरेको यसैपालि हो । नेपालले १७ वर्षअघिको सेमिफाइनलमा पनि माल्दिभ्सलाई २–१ ले हराएको थियो ।



ढाकास्थित बंगबन्धु स्टेडियममा नेपालले छैटौं साफ गेम्स १९९३ मा स्वर्णपदक जितेको थियो । त्यसयता नेपाली टिम उपाधिविहीन छ । त्यही स्वर्ण जितेको स्टेडियममा नेपालले शुक्रबार बहराइन यू–२३ विरुद्ध फाइनल खेल्नेछ । बहराइनले पहिलो सेमिफाइनलमा आयोजक बंगलादेशलाई १–० ले
हराएको थियो ।



अखिल नेपाल फुटबल संघ (एन्फा) मा २२ वर्ष अध्यक्ष रहेका गणेश थापामाथि घूस लिएको आरोपमा अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले गत कात्तिक ३० गतेदेखि १० वर्षका लागि प्रतिबन्ध लगाएको छ ।



त्यस्तै ६ वर्ष राष्ट्रिय टिमको कप्तानी गरेका सागर थापासहित ५ फुटबलरलाई एसियाली फुटबल महासंघ (एएफसी) ले मंसिर १८ गतेयता आजीवन प्रतिबन्ध लगाएको छ । यी दुवै प्रतिबन्धले बदनाम बनेको नेपाली फुटबललाई यसपल्ट ढाकाको प्रदर्शनले गतिलो सम्भावना कायमै रहेको सन्देश दिएको छ ।



बंगबन्धु गोल्डकपको समूह चरणमा श्रीलंकामाथि १–० को सफलतासँगै नेपालले २८ महिनायताको जितविहीन यात्रालाई १२ खेलमा पूर्णविराम लगाएको थियो । मलेसियन सुपरलिगको क्लब फेल्डा युनाइटेड र बंगलादेशसँग गोलरहित बराबरी खेलेपछि नेपाल समूह ‘ए’मा उपविजेता भएको थियो ।



मुख्य प्रशिक्षक प्याट्रिक ओसेम्सको अनुपस्थितिमा टिम सम्हाल्ने अवसर पाएका बालगोपाल महर्जनले नेपाली प्रशिक्षकमा पनि जिताउने खुबी भएको प्रमाणित गरेका छन् ।



प्रतियोगितामा पहिलोपल्ट कप्तानी सम्हालेका विराज महर्जनले ढाका जानुअघि ‘उपाधि जित्ने दाबी नगर्ने तर सकारात्मक सन्देश दिने’ बताएका थिए । युवा टिमले उनको भनाइलाई यथार्थमा बदलेको छ ।


0 comments:

Post a Comment