जनकपुर-सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मोर्चा र सरकारबीचको वार्ता सहमति नजिक पुगेको बताएका छन्। मधेसी मोर्चाका अन्य नेताले वार्ताको अाैचित्य सकिएको बताएकै दिन महतोले केहीदिन भित्रै सहमति हुने बताएका छन्।
nepali-patro
प्रमुख तीन दलका शीर्ष नेता गम्भीर भएको बताउँदै महतोले केही दिनभित्रै समस्या समाधान हुने विश्वास व्यक्त गरे। मधेस अान्दोलनका सहिदको सम्झनामा सिरहाको लहानमा श्रद्धाञ्जली सभामा सम्बोधन गर्न मंगलबार काठमाडौंबाट आएका महतोले जनकपुर विमान स्थलमा सञ्चारकर्मीसंग कुरागर्दै यस्तो बताएका हुन्।
'यतिका दिन भएको वार्ता त टाइमपास थियो' महतोले भने, 'अहिले प्रधानमन्त्री लगायत प्रमुख तीन दलका अध्यक्षहरु स्वंय गम्भीरतासाथ छलफलका लागि बस्न थालेकाले अब निकासमा पुग्ने सम्भावना बढेको छ।'
संविधान घोषणा गर्ने बेला तीनै पार्टीका नेता दलगत स्वार्थबाट माथि उठेर एकमत भए जस्तै अहिले मधेशको समस्या समाधान गर्न तीनै पार्टीले एउटै साझा विचार बनाउनुपर्ने उनले बताए।
'संविधान घोषणा गर्ने बेला म काँग्रेस उ माओवादी भन्ने थिएन। आज समस्या समाधानको लागि काँग्रेसले एमालेलाई र एमालेले माओवादीलाई दोष लगाएर हुन्न' उनले थपे, 'तीन दलका अध्यक्ष चाहेमा सीमांकनको विषय पनि तीन दिनमा मिल्छ। तीन महिना नै कुरिरहनु पर्दैन।'
महतोले लामो समय पश्चात मधेशबाट दिल्ली हुँदै काठमाडौं पुगेपछि प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली, काँग्रेस सभापति सुशील कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका थिए। तीनवटै प्रमुख पार्टीका प्रमुखसँग भेटिसकेपछि उनीहरु मधेश समस्या समाधानका लागि गम्भीर भएको पाइएको महतोले बताए।
0 comments:
Post a Comment